रानु मन्डलले रूवाइन् हिमेश रेशमियालाई

पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मन्डलको पहिलो गीत ‘तेरी मेरी कहानी’ रिलिज भइसकेको छ।

रानुको गीत रिलिज भएको केही समयमै युट्युबमा चर्चित भइसकेको छ। रिलिजको चौबिस घन्टानबित्दै गीतले ४५ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। गायक तथा संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’को यो गीतमा हिमेशले पनि स्वर दिएका छन्।

गीत सार्वजनिक कार्यक्रममा फिल्मका बाँकी कलाकार पनि उपस्थित थिए। कार्यक्रममा रानु मन्डलले हिमेशलाई धन्यवाद दिइन्। उनले भनेका शब्द सुनेर हिमेशले आफ्ना आँशु थाम्न पनि सकेनन्।

रानुले भनिन्, ‘उहाँले यदि मलाई मौका नदिएको भए म कहिल्यै यसरी गाउन सक्दिनँ थिएँ।’

रानुले यसो भनेर धन्यवाद दिइरहँदा हिमेशका आँखा रसाइरहेका थिए।

आँशु पुछ्दै हिमेशले पनि रानुका बारेमा आफ्ना भावना उजागर गर्दै भने, ‘हामी कुनै प्रतिभालाई अगाडि बढाउन खोजिरहेका छौं भने हामीलाई लाग्छ हामीले केके न गर्यौं। खासमा हामीले केही गरेका हुँदैनौं। सबै भगवानको लीला हो र हामी केबल कठपुतली हौं। हाम्रोतर्फबाट जे हुन सक्थ्यो, हामीले गर्यौं। अब तपाईंको पालो हो रानु मन्डललाई अगाडि बढाउने।’

हिमेशले रानुको जिम्मेवारी दर्शकलाई दिँदै थपे- जहाँ यस्तो प्रतिभा देख्नुहुन्छ, अगाडि बढाउनुहाेस्। किनकि मलाई पनि कसै न कसैले सहयोग गरेको थियो। त्यही भएर यहाँसम्म आइपुगेको हुँ।

रानु मन्डलले ‘तेरी मेरी कहानी’ बाहेक हिमेशकै साथमा अरू दुइटा गीत ‘आदत…’ र ‘आशिकी में तेरी…’ गाइसकेकी छन्। यी गीत पनि चाँडै रिलिज हुने क्रममा छन्। रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम ‘सुपरस्टार सिंगर’ मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए।

बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।केही दिनअघि उनले आफ्ना बारेमा जानकारी दिएकी थिइन्। रानुका अनुसार उनी राम्रै परिवारमा जन्मेकी हुन् र हजुरआमासँग हुर्केकी थिइन्। बिहेपछि मुम्बई आएको बताउँदै उनले आफ्ना श्रीमान बलिउड अभिनेता फिरोज खानको घरमा कुक काम गर्थे भनेकी थिइन्। पछि पारिवारिक समस्याका कारण आफ्नो जीवन संघर्षमय भएको उनको भनाइ छ।