‘पासवर्ड’ प्रिमियरमा पुगिन् सन्नी, भनिन् –‘नेपाल मलाई सबैभन्दा मनपर्ने देश’

बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा छिन्।

आफूले आइटम डान्स गरेको नेपाल चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागि हुन् बिहीबार अपरान्ह सन्नी नेपाल आईपुगेकी हुन्। बिहीबार साँझ कुमारी हलमा आयोजित चलचित्रको प्रिमियरमा उनि उपस्थित भइन्। साँझ ६ बजे नै हलमा ठूलो संख्यामा मिडियाकर्मी र फ्यानको प्रतिक्षा थियो। तर उनी पौने ९ बजेमात्र हल पुगिन्।

त्यहाँ उनलाई लाखे नाँच र पञ्चकन्याले स्वागत गरिएको थियो।

प्रिमियर अघि बोल्दै सन्नीले नेपाल आफूलाई सबैभन्दा मनपर्ने देश भएको बताइन्। ‘मलाई सबैभन्दा मनपर्ने देश नेपालमा आउन पाउँदा आनन्दित छु’–उनले भनिन्।

उनले नेपाली चलचित्रमा जोडिन पाउँदा आफूलाई खुःसी लागेको बताइन्। ‘पासवर्ड’ अहिलेसम्मकै बिग बजेटको नेपाली चलचित्र भएको आफूले ठानेको बताउँदै आगामी दिनमा पनि नेपाली चलचित्र खेल्ने सन्नीले प्रतिवद्धता जनाइन्।

चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको शाम’ बोलको गीतमा उनले आइटम नृत्य गरेकी छिन्।

मिडियासंगको साक्षात्कारपछि सन्नीले अतिथिहरुसंग चलचित्र हेर्न हल प्रवेश गरेकी थिइन्।

प्रिमियरमा चलचित्र टिमका साथमा अभिनेता भुवन केसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायतको उपस्थिति थियो।

आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्।

चलचित्रमा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ।

अंंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा अमित बस्नेत र हिरालाल जोशी छन्।

नेपालबाट चोरी गरि लण्डन पुर्याइएको बहुमूल्य मूर्ति फर्काउन गरिएको संघर्षको कथामा चलचित्र निर्माण भएको छ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार चन्द्रागिरी लगायत केही ठाउँका भ्रमण गर्ने निर्माण टिमले जनाएको छ।