अन्नुको दाबीः ‘ड्रीम गर्ल’ले १८० करोड बढी कमाउनेछ

अभिनेता तथा गायक अन्नु कपुरले आयुष्मान स्टारर ‘ड्रीम गर्ल’ले वक्सअफिसमा १८० करोड भारू भन्दा बढी कमाइ गर्ने बताएका छन्।

सिनेमाको प्रचारमा रहेका कपुरले शनिबार एक प्रचार कार्यक्रममा सो कुरा बताएका हुन्। यस प्रचार कार्यक्रममा उनी आयुष्मान, नुशरत भरूचा, अभिषेक बनर्जी, निधि विष्ट लगायतका कलाकारसहित उपस्थित थिए।

‘मलाई लाग्छ यो सिनेमा निश्चित रूपमा सफल हुनेछ। यसले १८० करोड भन्दा बढिको कारोबार गर्नेछ’, अन्नुले दाबी गर्दै भने।

यस सिनेमामा अन्नु र आयुष्मान दोश्रोपटक एकसाथ काम गर्दैछन्। यसअघि उनीहरूले सन् २०१३ मा रिलिज भएको हिट सिनेमा ‘विक्की डोनर’मा काम गरेका थिए।

सिनेमा सेप्टेम्बर १३ मा रिलिज हुँदैछ। सिनेमालाई राज शांडिल्याले निर्देशन गरेका हुन्। उनी यसै सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन्।