यो तस्बिर देखेपछि भावुक बने अनिल, ट्वीटरमा खोले कारण

बलिउड प्रवेश गरेर साना र सहायक भूमिकामा अल्झिरहेका अनिललाई सिनेमामा मुख्य अभिनेता बन्न ठूलै मेहेनत गर्नुपरेको थियो। हालै उनी आफूले पहिलोपटक मुख्य भूमिका गरेको सिनेमाको तस्वीर देखेर भावुक भए। उनी आफूले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको सन् १९८३ मा रिलिज भएको ‘वो सात दिन’ सिनेमाको तस्वीर देखेर भावुक भएका हुन्।

सोमबार एक ट्वीटर ह्यान्डलबाट सो सिनेमाको फोटो सार्वजनिक भएपछि अनिलले भावुक हुँदै ती दिन सम्झेर सो ट्विटलाई सेयर गरे र आफ्ना भावना पनि पोखे।

सार्वजनिक भएको तस्वीरमा अनिल सो सिनेमाका बाल कलाकार मास्टर राजूसँग देखिएका छन्। सो तस्वीरमा ‘यो सिनेमा जसले अनिल कपुरको करियरलाई गति प्रदान गरेको थियो’, लेखिएको छ।

‘सन् १९७७ देखि १९८३ सम्म मैले उद्योगमा(बलिउड) खुबै संघर्ष गरें। मलाई मात्र एउटा यस्तो सिनेमाको खोजी थियो जसले मेरो करियरलाई अगाडि बढाइदियोस्। मलाई त्यो मौका ‘वो सात दिन’बाट मिल्यो। एउटा यस्तो भूमिका जसले मेरो जीचन बदलिदियो। यस सिनेमापछि मलाई मेरो सपना साकार भएको लागेको थियो। आजसम्म मैले जे गर्न सके त्यसका लागि भगवानप्रति धेरै आभारी छि’, सो ट्विटलाई रिट्विट गर्दै अनिलले लेखेका छन्।

यसै सिनेमापछि अनिलको करियरले उचाइ लिन सुरू गरेको थियो। हाल उनी ‘तख्त’ सिनेमाको काममा व्यस्त रहेका छन्। उनी अभिनेत्री सोनम कपुरका बाबु हुन्।