चलचित्र छायांकन स्थल छनौटको नयाँ प्रयोगमा बिकास बोर्ड

चलचित्र बिकास बोर्डले चलचित्र छायांकन स्थाल छनौटका लागी प्रभावकारी प्रयोगका लागी आव्हान गरेको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा गर्न लागेको यो कार्यले ग्रामिण पर्यटनलाई पनि राम्रो सपोर्ट मिल्ने देखिन्छ । नेपालका कैयन यस्ता ठाउहरु छन जो आफैमा प्रकृतिले फिल्म स्टुडियोको रुपमा दिएको छ । यस्तै लुकेर रहेका पर्यटनका लागी उपयुक्त ठाउँहरुको जानकारी यो कार्यक्रममार्फत फिल्म मेकरहरुले पाउने छन ।

बिशेष गरी नेपाल सरकारको आर्थिक वर्ष २०७६। ७७ को नीति तथा कार्यक्रम बमोजिम “छायाङ्कनका लागि नेपाल कार्यक्रम” अन्तर्गत चलचित्र विकास बोर्डले नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र पर्यटन समेतलाई आकर्षण गर्न नेपालमा रहेका चलचित्र छायाङ्कनका लागि सम्भाव्यस्थलहरुको विस्तृत विवरण खुल्ने फोटोसहितको लोकेशन गाइड बुक प्रकाशन गर्न लागेएको तथा सम्भाव्य पर्यटकीय एवं चलचित्र छायाङ्कनस्थलहरुको प्रवर्द्धनात्मक श्रव्यदृश्य सामाग्री निर्माण गर्ने प्रयोजनका निम्ति शर्तहरुको अधिनमा रही चलचित्र छायाङ्कन गन्तव्यस्थलहरुको फोटो तथा भिडियो आह्वान गरेको छ ।

आबेदन पठाउनेले निम्न शर्तहरु पालना गर्नु पर्ने पनि बोर्डले जनाएको छ ।

शर्तहरुः

१. मिति २०७६ भाद्र ३१ गते मंगलबारभित्र फोटो तथा भिडियो सामग्री अनलाइनमा लगइन गरी अपलोड गर्न सकिनेछ ।

२. नेपालमा रहेका आकर्षक तथा सम्भाव्य चलचित्र छायाङ्कनस्थलहरू– हिमाल, पहाड, तराई, ताल, नदी, झरना, वन जंगल, वन्यजन्तु, चरा चुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विक स्थल, मठ मन्दिर, गाउँ परिवेश, कला सँस्कृति, भेषभूषा, रहनसहन, आदिका फोटा एवं भिडियोहरु पठाउन सकिनेछ ।

३. फोटो तथा भिडियो चलचित्र विकास बोर्डको वेवसाइटको Photo Upload Section –http://www.film.gov.np/locationhunt मा गई लगइन गरी Upload गर्न सकिनेछ ।

४. सहभागिताका लागि सबै खालका क्यामेरा र स्मार्ट फोनबाट खिचिएका फोटो र भिडियो पठाउन सकिनेछ ।

५. छनौटमा परेका फोटो र भिडियोलाई चलचित्र विकास बोर्डबाट तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराईनेछ ।

६. तोकिएको समयभन्दा पछि प्राप्त हुने फोटो तथा भिडियो सामग्रीलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

७. छनौट सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा नीहित रहनेछ ।

८. छनौटमा परेका फोटो र भिडियोलाई बोर्डले प्रयोग गर्नु अघि प्रतिलिपि अधिकार लगायतका विषयमा दुई पक्षीय सम्झौता गरिनेछ ।

९. यस सम्बन्धमा अन्य कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

१०. यो सूचना चलचित्र विकास बोर्डको वेवसाइट र सूचना पाटीमा समेत हेर्न सकिनेछ ।