अमेरिकामा प्रियंकालाई ‘पाखण्डी’ भन्दै पाकिस्तान काण्ड उठाएपछि…

भारतीय अभिनेत्री प्रियंका चोपडा पनि पाकिस्तानसँगको विषयमा विवादमा मुछिएकी छन् । उनको ट्वीट अभिव्यक्तिमाथि एक प्रसंशकले ‘पाखण्डी’ नै भनेर आलोचना गरेपछि विवाद उत्पन्न भएको हो ।

प्रियंका यही आइतबार लसएन्जलसस्थित स्टेजमा आफ्ना दर्शकको प्रश्नको जवाफ दिँदै थिइन् । सोही क्रममा एक महिला प्रसंशकले प्रियंकालाई प्रश्न सोधेकी हुन् । डेलीमेलका अनुसार ती महिला पाकिस्तानी थिइन् ।

प्रियंकाको राजनीतिक विचारमाथि नै उनले कडा प्रश्न गरेकी थिइन्, ‘मानवियताको सवालमा त्यो एक खालको कठोर प्रतिक्रिया थियो । मलाई थाहा छ, तिमी पाखण्डी छौ ।’ आयसा मलिक नामकी ती युवतीले प्रियंकाको गत फेब्रुअरीमा सार्वजनिक ट्वीटरमाथि टिप्पणी गरेकी थिइन् ।

प्रियंकाले पुलवामा हमलाको विषयमा व्यक्त गरेका विचारले पाकिस्तानविरुद्ध न्युक्लियर बमको लागि उक्साएको ती युवतीको भनाइ थियो । भारतले पुलवामामा हमला गरिरहँदा प्रियंकाले भने फेब्रुअरी २६ मा ‘जय हिन्द’ भन्दै ट्वीट गरेकी थिइन् ।

जब कि, उनले प्रियंकालाई फेब्रुअरीदेखि नै ट्वीटरमा प्रश्न सोध्दैआएकी थिइन् । तर ती युवतीलाई पूरा प्रश्न सोध्न दिइएन । प्रियंकाले भने आफ्ना विचारले यदी कसैलाई हानी पुर्याएको भए क्षमाप्रार्थी भएको भन्दै माफी समेत मागिन् । साथै प्रियंकाले आफ्ना थुप्रै पाकिस्तानी साथी भएको भन्दै आफ्नो विचारको बचाउ पनि गरेकी थिइन् ।