दुई करोड भारतीय रुपैयाँ बुझेर सन्नी लियोनले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’

दुई करोड भारतीय रुपैयाँ बुझेर बलिउड अभिनेत्री सन्नी लियोनले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतको शब्द विक्रम जोशीले लेखेका हुन् । गीतको भिडियोमा सन्नीले बोल्ड ठुम्का लगाएकी छन् ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् । उनले सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । गीतको मिडियोमा मेकिङ गजबकै देखिन्छ ।

गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि फिल्ममा अभिनय छ ।फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।