भारतीय प्रसिद्ध कलाकार गिरिशको निधन, कर्नाटकमा विदा, प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

भारतीय फिल्मकर्मी तथा प्रसिद्ध लेखक गिरिश कर्नाडको ८१ वर्षको उमेरमा साेमबार बिहान निधन भएको छ । उनको निधनमा कर्नाटकमा मुख्यमन्त्री एचडी कुमारस्वामीले तीन दिन सार्वजनिक विदा घोषणा गर्नुका साथै एक दिन सार्वजनिक विदा समेत दिइएको छ ।

१९७० को दशकमा कन्नड फिल्मबाट आफ्नो करिअर बनाएका गिरिशले फिल्म तथा लेखनमा आफ्नो प्रसिद्धि कमाएका थिए । टेलिभिजन प्रस्तोता, अभिनय, लेखनमा उनको अब्बल दक्षता थियो । यस क्रममा उनले थुप्रै पुरस्कार पाइसकेका थिए ।

उनले जीवनभर फिल्म लेखनसँगै, अभिनय, निर्देशन र नाटकको क्षेत्रमा समेत काम गरेका थिए । यही वर्ष सलमान खानको नयाँ फिल्म ‘टाइगर जन्दिा है’मा समेत काम गरिसकेका थिए ।

१९९४ मा साहित्यिक एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, पद्म श्री, पद्म भुष्ण लगायत पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । गिरिशको निधनमा फिल्म क्षेत्र मात्रै नभएर राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तिले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत उनको निधनबाट दुखी बनेको भन्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । सोमबार प्रधानन्त्री मोदीले ट्वीटरमार्फत गिरिशलाई श्रद्धाञ्जली दिएका हुन् । अन्य थुप्रै राजनीतिज्ञले उनको निधनमा श्रद्धाञ्जली दिँदै दुख व्यक्त गरेका छन् ।