मनकारी आलिया : आफ्ना चालक र सहयोगीलाई घर किन्न दिइन् ५०–५० लाख !

बलिउडकी सुन्दरी नायिका आलिया भट्टले निकै दयालु व्यवहार देखाएकी छन् । उनले आफ्ना निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्न भनेर ५०–५० लाख भारू रकम दिएकी छन् ।

भारतीय मिडियाका अनुसार उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई निकै मोटो रकम दिएकी हुन् ।

सुनील र अमोल जुहु गली र खारमा एक बेडरूमवाला फ्ल्याट बुक गरेका छन् । दुवै आलियासँग उनको डेब्यु सिनेमा ’स्टुडेन्ट अफ् द इयर’देखि साथै रहेर उनका लागि काम गर्दै आएका व्यक्ति हुन् ।

आलियाले उनीहरू दुवै यहाँसम्मको यात्रा आफ्नो अभिन्न अंग भएको र उनीहरूबिना बाँच्न नसक्ने भन्दै यस्तो सहयोग गरेकी हुन् । आलियाले निकै ठूलो मन बनाएर मोटो रकम सहयोग गरेपछि उनको प्रशंसा बढ्दो छ ।

आलिया अहिले ’ब्रम्हास्त्र’ तथा ’कंलक’ फिल्ममा एकसाथ काम गरिरहेकी छन् ।