‘आरआरआर’लाई ‘बाहुबली’भन्दा भव्य बनाउँदैछन् राजामौली, एक सिनको सुटिङमै ४५ करोड खर्च

दक्षिण भारतीय ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबलभिन्दा भव्य फिल्म बनाउँदैछन् । उनको आगामी फिल्म ‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च हुनेछ । बलिउडमा ४५ करोडमा पूरै फिल्म बनाउन सकिन्छ । अहिले बनिरहेका केही फिल्म त यसको पनि आधा बजेटमा बनेका छन् । तर, राजामौलीले एउटै दृश्यको लागि यति भव्य तरिकाले सुटिङ गर्ने तयारी गरेका छन् ।

यो दृश्यको लागि हजारौं फाइटरसँग करिब ६ महिनासम्म प्रि–भिजुअलाइजेशन र तालिम संचालन गरिएको छ । यो विशेष तयारीपछि पूर्ण रुपमा सुनिश्चित भएपछि मात्र निर्देशक राजामौली यसको शुटिङ गर्नको लागि तयार भएका छन् । सूत्रका अनुसार यो दृश्य हैदराबादको एक आल्मुनियम फ्याक्ट्रीमा शुटिङ हुनेछ । दृश्यमा के हुन्छ भन्ने कुरामा निकै गोपनीयता अपनाइएको छ । मानिएको छ कि त्यो फ्याक्ट्रीमा हिरोइनलाई छुटाउन दुई हिरोहरु आउँछन् र भिलेन तथा उसका हजारौं गुण्डाहरुसँग लड्छन् ।

जुलाइ महिनाभरीमा यो दृश्यको सुटिङ पूरा हुने अपेक्षा गरिएको छ । यसअघि पनि फिल्मको पहिलो तालिकामा हैदराबादको आल्मुनियम फ्याक्ट्रीमा यो फिल्मका केही दृश्यको शुटिङ भइसकेको छ । त्यसपछि दिल्ली र पुणेमा सुटिङ भएको थियो । यो फिल्मको कथा लेखनका लागि गरिएको अनुसन्धानमा करिब २ वर्षको समय लागेको बताइएको छ । फिल्म १० भन्दा धेरै भाषामा बन्नेछ । ३० जुलाइ २०२० मा फिल्म रिलिज हुनेछ ।