शुक्रबारबाट ‘रेस जिन्दगीको’

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रेस जिन्दगीको’ टिमले बुधबार राजधानिमा पत्रकार भेटघाटगरी फिल्मका बारे अझ जानकारी गराएको छ । किशोर सुब्बा निर्देशित चलचित्र माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो ।

राजधानिका हलहरुमा भोलिबाट प्रदर्शन हुने फिल्म मोफसलका दर्शकहरुले भने अझै केहीदिन पछि मात्र हेर्न पाउने छन । ठुला ब्यानरका हिन्दी र अंग्रेजी फिल्मको प्रदर्शन हुनाले फिल्म रेसलाई एउटै समयमा देशभर प्रदर्शन गर्न नसकिएको निर्देशक सुब्बाले जानकारी दिए ।

पुर्व सांसद सुरेश आलेमगरको प्रमुख आतिथ्यता र निर्माता हस्त लिबाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले फिल्मका टिमलाई शुभकामना ब्यक्त गरेका थिए । मानिसको जिन्दगीमा आइपर्ने बिभिन्न किसिमका रेसको कथा बोल्ने फिल्ममा नीता ढुंगाना, जियान रेग्मी, पुष्पा लिम्बु, सुलेमान शंकर (ईकु), किरण केसी, एजेश सैंजुलगायतका कलाकारको अभिनय रहेको छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा-संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व रहेको छ ।

फिल्मका मुख्य निर्माता हस्त लिबाङ्ग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, रहेका छन ।