बलिउडमा मुस्लिम कलाकारको प्रभुत्व : सलमान खानदेखि आलियासम्म

संसारभरका मुस्लिम समुदाय अहिले आफ्नो प्रसिद्ध चाड इद मनाउने मूडमा छन् । भारतमा दोस्रो ठूलो संख्या ओगट्ने मुस्लिम समुदायले यहाँको राजनीति, फिल्म र संगीत क्षेत्रमा राम्रो प्रभाव पार्छ ।

बलिउडमा त सबैभन्दा धेरै व्यस्त कलाकार मुस्लिम समुदायकै छन् । यतिसम्म कि, उत्कृष्ट १० मा अधिकांश मुस्लिम समुदायकै कलाकार छन् । त्यसो त, इद पर्व बलिउडकर्मीले पनि मनाउँदैआएका छन् । पढौँ मुस्लिम समुदायबाट बलिउडमा छिरेका केही प्रभावशाली कलाकारहरुको कथा :

सलमान खान : सलमान वलिउडमा स्थापित लेखक सलीम खानका छोरा हुन् । ‘बलिउडस्टार’कै छवि बनाएका सलमान पछिल्लो समय प्रोड्युसर तथा टेलिभिजन पर्शनालिटीको रुपमा पनि चिनिन्छन् । साथी र दर्शकहरु उनलाई प्रेमले ‘सल्लु भाइ’, ‘भाइजान’ पनि भनेर बोलाउँछन् । बलिउडमा अग्रभागमा रहेका सलमानले मुद्दा त खेप्दैआएका छन् । यससँगै अधिकांश सूटिङको क्रममा आफ्नै शुभचिन्तक तथा दर्शकबाट पनि थुप्रै समस्या झेल्नु परेको हुन्छ ।

शाहरुख खान : शाहरुख पनि अभिनयसँगै फिल्म निर्माणमै छन् । ‘किङ्ग अफ बलिउड’ नै भनिन्छ उनलाई । साथै टेलिभिजनकर्मी उनलाई ‘किङ खान’ भनेर पनि सम्बोधन गर्छन् । विविध विधाका फिल्ममा आफूलाई प्रस्तुत गर्ने उनलाई अमेरिकी टाइम म्यागजिनले विश्वकै महान मुभी स्टारको रुपमा समेत चिनाइसकेको छ । उनी संसारमै सर्वाधिक धनी अभिनेतामध्ये पर्छन् । १४ भन्दा धेरै फिल्म फेयरमा उनका फिल्म पुरस्कृत भएका छन् ।

आमिर खान : आमिरलाई बलिउडमा ‘भर्सटायल’ अभिनेताको रुपमा पनि चिनिन्छ । ‘करण–अर्जुन’ देखि ‘तारे जमिनपर’ जस्ता फिल्ममा उनले आफूलाई पुस्टि गरिसकेका छन् । पछिल्लो समय हरेक वर्ष नयाँ एउटै तर प्रभावशाली फिल्म बनाउँछन् उनी । ‘गजनी’, ‘थ्रि इडियट’, ‘तारे जमिन पर’ जस्ता फिल्मबाट त उनले संसारमै लोकप्रियता कमाए । फिल्मसँगै चेतना समेत सम्प्रेषण गर्ने आमिरको फिल्म मेकिङ पृथक मानिन्छ ।

नसिरुद्धिन साह : नसिरुद्धिन बलिउडका अभिनेता र निर्देशक मात्रै हैनन् । उनी एक प्राज्ञिक व्यक्तिको रुपमै चिनिन्छन् । यतिसम्म कि, उनको फिल्म कक्षामा भर्ना हुन नयाँ पुस्ताका थुप्रै फिल्मकर्मी तँछाडमछाड गर्छन् । नसिरुद्धिनको फिल्मी कक्षा लिने विदेशी समेत अन्य मुलुकमा गएर स्थापित भइसकेका छन् । उनको अभिनयमा जीवन्तता त छ नै, सँगै उनी फिल्मलाई एक अध्ययनको विधाको रुपमा पढाउने गर्छन् । जसले गर्दा फिल्मलाई बुझ्न सजिलो हुन्छ ।

इरफान खान : इरफान अभिनयमा विशेष व्यक्तित्व बनाएका कलाकार हुन् । अभिनयबाट संसारमै गन्नलायक कलाकारमा पर्छन् उनी । नाटकको क्षेत्रबाट संघर्ष गर्दै बलिउडमा स्थापित भएका उनी सरल देखिन्छन् । तर आफ्नो अभिनय कौशलमा अब्बल मानिन्छन् ।

मधुवाला : मधुवालाको वास्तविक नाम मुम्ताज बेगम हो । उनले बलिउडमा स्थापित हुनकै लागि आफ्नो नाम परिवर्तन गरेकी थिइन् । फिल्म निलकमल बाट यो उद्योगमा प्रवेश गरेकी उनी पुरानो पुस्ताको अभिनेत्री हुन् ।

सैफ अली खान : सैफको परिवारले भारतमा लामो इतिहास बोकेको राजसंस्थाको प्रतिनिधित्व गर्छ । उनलाई अझै पनि नवाब भनिन्छ । धनाढ्य र ‘एलिट’ परिवारका उनी अभिनयमा प्रभावशाली नभए पनि लामो समयदेखि स्थापित अभिनेता हुन् ।

नवाजुद्धिन सिद्धिकी : नवाजुद्धिन पछिल्लो दशकका बलिउडमा प्रभावशाली अभिनेता हुन् । नाटकबाटै संघर्ष गरेर फिल्ममा स्थापित भएका नवाजको अभिनयमा अलग धार छ । ‘किक’, ‘ग्याङ्स अफ वासेपुर’, ‘माझी द माउन्टेन म्यान’ जस्ता फिल्मसँगै नवाजको अभिनयका प्रसंशक संसारभर भए ।

जोय अख्तर : प्रसिद्ध लेखक तथा राजनीतिक अभियन्ता जावेद अख्तरकी छोरी हुन् जोय अख्तर । हालै बलिउडमा राम्रो चर्चा पाएको फिल्म ‘गल्ली बोय’ निर्माण गर्ने पनि उनै हुन् । निर्देशक तथा स्कृप्ट राइटरको रुपमा राम्रो छवि बनाएकी जोय आफैँ त कुनै धर्म पछ्याउँदिनन् । तर उनी मुस्लिम परिवार र समुदायबाट आएकी हुन् । अमेरिकाको ‘न्युयोर्क फिल्म स्कुल’बाट फिल्म अध्ययन गरेकी उनी फिल्ममार्फत अल्पसंख्यक, दलनमा परेका समुदायका संघर्ष देखाउने गर्छिन् । फिल्मसँगै उनी महिला, विपन्न लगायत वर्गका अधिकारको पैरवी पनि गर्छिन् ।

आलिया भाट : चल्तीका अभिनेत्रीमध्ये सबैभन्दा कान्छो उमेरकी अभिनेत्रीको रुपमा चिनिन्छिन् आलिया । यतिसम्म कि, आमा नै बलिउडबाट विदा नभइसक्दा आलिया फिल्म उद्योगमा स्थापित भइन् । बलिउडमा स्थापित महेश भाट र सोनीकी छोरी आलिया पछिल्लो समय वलिउडमा निकै मन पराइएकी अभिनेत्री हुन् । पछिल्लो समय ‘गल्ली बोय’बाट उनले आफ्नो अभिनय क्षमता थप पुष्टि गरेको पनि टिप्पणी हुने गरेको छ ।

तबु : तबुको पनि वास्तविक नाम अर्कै छ । तबसुम फतिमा हस्मी उनको खास नाम हो । अभिनयमा उनको विशेष कौशल रहेको टिप्पणी हुन्छ । ‘बोल्ड एन्ड ब्युटी’ अभिनेत्रीको रुपमा चिनिन्छिन् उनी । उनी पनि पुरानो पुस्ताकै अभिनेत्री हुन् ।