टाइगर श्राफ र रणवीर सिंह ताक्दै कट्रिना

कट्रिना कैफ बलिउड फिल्म क्षेत्रमा नयाँ अनुहार होइन। यिनले शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, ऋतिक रोशन जस्ता सुपरस्टारसँग काम गरिसकेकी छिन्। यी सबै कलाकारका साथ कट्रिनाको जोडी खुब जम्यो र कैयौं फिल्म सुपरहिट समेत भए।

कट्रिना आजकल पाका कलाकारभन्दा युवा कलाकारसँग काम गर्न बढी आनन्द लाग्ने बताउँछिन्। उनले रणवीर कपुर र सिद्धार्थ मलहोत्रासँग त फिल्ममा काम गरिसकिन्। पछिल्लो समय कट्रिनाले टाइगर श्राफ र रणवीर सिंहसँग अभिनय गर्ने इच्छा व्यक्त गरेकी छिन्। यो कुरा कट्रिनाले नेहा धुपियाको च्याट शोको प्रश्नको जवाफमा बताएकी हुन्। कट्रिनाले उक्त शोमा आफ्नो जोडी टाइगर र रणवीर दुवैसँग जम्ने उल्लेख गरिन्।

कट्रिनाले अगाडि भनिन्, ‘म टाइगरसँग एउटा एक्सन फिल्ममा काम गर्न चाहन्छु।’ उनले टाइगरसँग एक्सनका साथै एक कमेडी फिल्ममा समेत काम गर्ने इच्छा व्यक्त गरिन्। कट्रिना अभिनित फिल्म ‘भारत’ आज रिलिज भएको छ। भारतमा कट्रिनाले सलमान खानसँग अभिनय गरेकी छिन्।