बलिउडको महँगो चलचित्र ‘२ ०’ एक वेबसाइटमार्फत लिक, अक्षयले गरे लिक भएको चलचित्र नहेर्न अनुरोध

भारतीय अभिनेता रजनीकान्त र अक्षय कुमारको अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र  ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको थियो । चलचित्र तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो। यसकारण चलचित्रका निर्माताहरुलाई घाटाहुने सम्भावना देखिए तापनि यस चलचित्रको पहिलो दिनको व्यापारले सबै रेकर्ड तोडेको छ । उक्त चलचित्रले पहिलो दिनमै सय करोडको व्यापार भारतबाटमात्र गरेको छ ।

२९ नोभेम्बर बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन आएको ‘२.०’को पहिलो दिनको व्यापारिक आँकडाअनुसार यो चलचित्रको हिन्दी संस्करणले उत्तरी भारतमा २० करोडको व्यापार गरेको छ । जब कि, दक्षिण भारतको तामिल, तेलुगुलगायतका भाषामा ८० करोडमाथिको व्यापार गरेको छ । दक्षिण भारतमा चलचित्र रिलिज हुनुअघि नै अधिकांश मल्टिप्लेक्स हलमा चार दिनको टिकट बिक्री भइसकेको छ ।

तर अचम्म लाग्ने कुरा यहाँ के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैँले ट्वीटरमार्फत चलचित्र निर्मातालाई चेतावनी दिँदै ‘२.०’लिक भएको जानकारी दिएका थिए । चलचित्रमा अनुमान गरिएको फाइदालाई मध्यनजर गर्दै यसरी चलचित्र लिक भएपछि आउदो दिनमा निर्माताहरुलाई घाटा हुने सम्भावनालाई निहाल्दै अक्षय कुमारले आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको चलचित्र नहेर्न अनुरोध गरेका छन् ।