राजपाल यादवलाई ३ महिना जेल सजायँ

बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ हुने भएको छ । चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो ।

भारतको चर्चित अनलाइन बलिउड हंगामाका अनुसार, भारतको उच्च न्यायलयले उनलाई यस्तो आदेश दिएसँगै अब उनलाई प्रहरीले पक्राउ गर्नेछ । उनको कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए ।

सन् २०१० मा ऋण लिएतापनि अहिलेसम्म उनले सो रकम फिर्ता गर्न सकेका छैनन् । उनले निर्माण गरेको ‘अता पता लापत्ता’ चलचित्र सन् २०१२ मा रिलिज भएको थियो । तर, यो चलचित्रले जम्मा ३८ लाखको मात्र व्यापार गरेको थियो ।

चलचित्र डुबेपछि यादवले ऋण फिर्ता गर्न नसकेका हुन् । यादवले आफूले ऋण लिएको नभई उक्त कम्पनीले चलचित्रमा लगानी गरेको बताएका थिए । तर, कागजी संझौतामा ऋण उल्लेख भएकाले पनि उनको बयानलाई अदालतले सुन्न चाहेन ।