‘आज हाम्रो भेट भाको दिन’को रिमेक ‘दि ब्रेकअप’मा

दर्शकलाई तिहार उपहार स्वरुप फिल्म ‘दि ब्रेकअप’ले पहलो गीत रिलिज गरेको छ ।नेपालीहरुको दोश्रो महान चाड मानिने तिहार पर्व नजिकिँदै गर्दा फिल्म ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरुप पहिलो प्रचारात्मक सामग्री रिलिज गरेको छ । मंगलबार युट्युव मार्फत फिल्ममा समावेश पहिलो गीत रिलिज गरियो । यो गीत दशक पहिले प्रदर्शनमा आएको फिल्म ‘ज्वाला’मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ को रिमेक हो ।

‘ज्वाला’ फिल्ममा समावेश हुँदा उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीतमा स्वर आशा भोस्ले र उदितनारायण झाले दएका थिए । न्यू भर्सन मा आउँदा यो गीतमा स्वर विराज गौतम र मेलिना राईको छ, एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । ‘ज्वाला’मा कम्मर मर्काएका अभिनेता सरोज खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ‘दि ब्रेकअप’का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । गीतलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसुर बाँकी राखेको छैन ।

हेमराज बिसीको निर्देशनमा बनेको फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो । सुरेन्द्र पौडेलले सम्पादन गरेको फिल्म ‘दि ब्रेकअप’ आगामी पौष २७ बाट दर्शकमाझ आउँदैछ ।