‘बाबु कान्छा’ को टोली चितवनमा

असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै चर्चा पाएको ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि आज चितवन आईपुगेको छ । यस अघि शुक्रबार बिहान हेटौडाका पत्रकार माझ चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिटले हेटौडामा पनि पत्रकार भेटघाट आयोजना गरेको थियो ।

यसै क्रममा आजै चलचित्र बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका नायक सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न सकिने चलचित्र बनेको बताए । चलचित्रमा आफु लगायत सबै कलाकारले निकै मेहेनतको साथ काम गरेकोले ‘बाबु कान्छा’ राम्रो बनेको सलोनको दाबी रहेको छ । यस्तै सलोनले चलचित्र चितवन, बिरगंज, लम्जुङ घले गाउ र काठमाण्डौमा छायांकन गरिएको पनि बताए । चलचित्रका निर्माता, निर्देशक सलोनका बुवा शोभित बस्नेत भने चलचित्रको काममा ब्यस्त रहेकोले चितवन आउन नपाएकोमा सलोनले पत्रकारहरु सँग माफि मागेका छन् । चलचित्रको टिजर र ट्रेलरमा १७ बर्ष अघीको सलोन बस्नेतलाई देखाईएको कारण पनि उनले खुलाएका छन् ।

सानोमा आफुले धेरै चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो – सलोनले भने । यस्तै सलोनले चलचित्रमा ७० लाखको लगानी लागेको पनि बताएका छन् ।

उता चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका एक सामान्य युवतिको रहेको बताईन । ‘चलचित्रमा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ – करिश्माले भनिन् । चलचित्र ‘लभ सब’ बाट रजट पतमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो चलचित्र हो । ‘लभ सब’ मा संयम पुरिको अपोजिटमा देखिएकी करिश्मा ‘बाबु कान्छा’ मा भने आफ्नो रियल जोडी सलोन बस्नेतको अपोजित रोलमा देखिएकी छिन् । पहिलो चलचित्र पछी लामो समय सम्म चलचित्रमा नदेखिएकी करिश्माले यो चलचित्रमा भने निर्माता तथा निर्देशक शोभित बस्नेतले अफर गरेको कारण काम गरेको प्रष्ट पारीन ।

चलचित्रका सह निर्माता सरोज घिमिरेले ‘बाबु कान्छा’ राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । चलचित्रका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा चलचित्रले राम्रो ब्यापार गर्ने बताए । साथै उनले व्यस्तताका कारण अन्य कलाकारहरु चितवन आउन नपाएको समेत जानकारी गराएका छन् ।

चलचित्र ए मेरो हजुर २ बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छामा नायिका करिष्मा श्रेष्ठ रहेकी छिन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।