धुर्मुस सुन्तली फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गर्ने

सामाजिक कार्यमा सक्रिय रहेका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको लक्ष्य तय गरेको छ । सिताराम कट्टेलले आफ्नो व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने बताएका छन् ।

चारवटा नमूना बस्ती निर्माण गरेका धुर्मुस सुन्तली फाउन्डेसनले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा आफूहरुले संयोजन गर्ने बताएका छन्। फेसबुक पेज मार्फत लेखेको स्टाटसमा उनले केही समयमै रंगशाला निर्माण समिति गठन गर्ने र त्यही समितिको रोहबरमा रंगाशाला बन्ने उल्लेख गरेका छन् ।

धुर्मुसले सबैलाई सोधेका छन् ‘नमुना नेपाल’ र ‘अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान’मा कुन चाहिं पहिला? यसअघि घोषणा गरेको प्रोजेक्ट ‘नमुना नेपाल’को मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. प्रकृया अघि बढी राख्दा नमुना नेपाल पहिला बनाउने वा क्रिकेट मैदान पहिला भन्ने प्रश्न राखेपनि स्टाटसमार्फत नै अब दुई प्रोजेक्टलाई एकसाथ अघि बढाउने खुलासा गरेका छन् ।

धुर्मुसले लेखेका छन् ‘यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो’, । साथै आफ्नो हरेक परियोजना सरकारको साथको कारण सफलतापूर्वक सम्पन्न भएकाले यसमा पनि नेपाल सरकारको साथ, सहयोग र समन्वय आशा व्यक्त गरेका छन् ।