एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी बजेटको महान ग्रन्थ महाभारतको फिल्म सिरिजमा अमिर खान

बलिउडका चर्चित अभिनेता भनेर चिनिने आमिर खान ‘ठग्स अफ् हिन्दोस्तान’ पछि बलिउड इतिहासकै सबैभन्दा ठूलो फिल्ममा अभिनय गर्ने तयारीमा रहेका छन् ।
फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, हिन्दु धर्मको महान ग्रन्थ महाभारतमा आधारित भएर निर्माण हुन लागेको एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी बजेटको फिल्ममा आमिर खान मुख्य भूमिकामा देखिने भएका छन् । यो फिल्मको निर्माण रिलायन्स कम्पनीका मालिक मुकेश अंबानीले गर्ने भएका छन् ।

उनका अनुसार, महाभारतमा बन्ने यो फिल्म सिरिज हलिउड फिल्म लड्र्स अफ् रिङ्स तथा गेम अफ् थ्रोन्स सिरिजकै हाराहारीको हुनेछ । तर आमिर खान र मुकेश अम्बानीको तर्फबाट भने यसको आधिकारिक खुलासा भएको छैन ।

आमिर खानले सिक्रेट सुपरस्टारको प्रमोसनको समयमा महाभारत जस्तो ठूलो प्रोजेक्टमा काम गर्ने सपना भएको बताएका थिए । उनले आफूलाई यस्तो अभिनय गर्न १५–२० वर्ष लाग्ने समेत बताएका थिए । त्यस बेला आमिरले आफूले कर्णको भूमिका निर्वाह गर्न चाहेको पनि बताएका थिए ।