‘पुनर्जन्म’ चल्दा-नचल्दा आर्यन क्रेजमा कति प्रभाव ?

aryan sigdelचलचित्र ‘पुनर्जन्म’ यहि फागुन २२ मा रिलिज हुँदै गर्दा धेरैको नजर अभिनेता आर्यन सिग्देलमा हुनेछ । पछिल्लो समय प्रदर्शनमा आएका केहि चलचित्रहरुले फ्लपको ट्याग भिरिसकेपछी उनको करियरमा सफलताको स्वाद पुनर्वहाली गर्नको लागी पनि यो चलचित्र चल्नै पर्ने दबाब उनमा छ । तर यो भन्दै गर्दा ‘पुनर्जन्म’ नचलेमा पनि आर्यनको करियरमा ठुलो खलबल पुग्छ भन्ने चाहीँ होईन् ।

स्थापित भईसकेको जुनसुकै कलाकारको लागी पनि आफ्नो अभिनय समेटिएको हरेक समय प्रदर्शनमा आउने चलचित्रले ठुलो भुमिका खेल्छ । त्यो क्रममा आर्यन अभिनित पछिल्ला दुई चलचित्र ‘नाईके’ र ‘अलबिदा’ असफल भएपछी उनलाई साख जोगाईराख्नको लागी यो चलचित्र चल्नुपर्ने अवस्था छ  । तर यहाँ चलचित्र नचलेको अवस्थामा समेत उनको अभिनयले भने खास अर्थ राख्ने हुँदा ‘सेना’को रुपमा पहिलो पटक पर्दामा आउँदै गरेको आर्यनको अभिनयले दर्शकलाई कतिसम्म न्याय गर्छ भन्ने प्रश्न उब्जिनु स्वभाविक हो ।

त्यसो त बर्ष २०७१ को सुरुवातमा नै प्रदर्शनमा आएको आर्यन अभिनित ‘नोभेम्वर रेन’ हिट लिस्टमा परिसकेको छ । उक्त चलचित्रले उठाएको हाईटमा लगातार असफल चलचित्रले असर पार्नुले स्वयंम आर्यनलाई तनाव उत्पन्न गराएको हुनपर्छ । त्यसैले पनि यसअघी सम्पन्न केहि कार्यक्रममा बोल्दै आर्यनले ‘फरक गेटअप’को अभिनय जोडिएको ‘पुनर्जन्म’ चल्नेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।
punarjanma‘लभर व्याय’का रुपमा परिचित चकलेटी हिरो आर्यनले पहिलो पटक पर्दामा एक्शन भुमिकामा अभिनय गरेका दुई चलचित्र ‘नाईके’ र ‘अलविदा’ सफल नहुँदै गर्दा एक्शन अभिनय रहेको बसन्त निरौला निर्देशित उनको अर्को चलचित्र ‘आवेग’ रिलिज हुन बाँकी छ । जुन चलचित्रबाट पनि उनको बेग्लै आशा रहेको बताउँछन् । यो बीचमा तिहारको छेकोमा प्रदर्शनमा आएको ‘लज्जा’ चलचित्रले भने उनलाई राहत महसुस गराएको थियो ।

अन्य चलचित्र भन्दा फरक अनि यथार्थ कथा बोकेको भनिएको ‘पुनर्जन्म’ मोहनकृष्ण श्रेष्ठको लगानीमा तयार भएको चलचित्र हो । यो चलचित्रमा गजित बिष्ट, केकी अधिकारी र सुस्मिता शाही लिड रोलमा छन् । साजन श्रेष्ठको एक्शन कट समावेश आर्यनको यो चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ अनि सफल बन्छ की असफल, त्यो भने रिलिजको केहि दिनमा थाहा लाग्नेछ । यत्ति हो कि, यो चलचित्र चल्दा र नचल्दा आर्यनको करियरमा भने खास अर्थ रहने निश्चित छ ।