राजधानीमा विभिन्न चलचित्रकर्मी र सञ्चारकर्मी सम्मानित

आफ्नो स्थापनाको पहिलो वर्ष पुरा भएको अवसरमा नेपाली चलचित्र सम्बन्धी डिजिटल अनलाईन पत्रिका ‘फिल्मी बजार डट कम’ले विभिन्न चलचित्रकर्मी तथा कला र चलचित्र क्षेत्रमा कलम चलाईरहेका सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको हातबाट  पुराना निर्देशक तथा बरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा लाइफटाइम एजिभमेन्ट अवार्डबाट सम्मानित भए । त्यस्तै पहिलो नेपाली चलचित्र ‘आमा’की नायिका भुवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’ विधामा सम्मानित गरियो । विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा केहि दिन मात्रै गिनिज बुक अफ वर्ल्ड रेकर्डको सुचीमा परेका विश्वकै कान्छा चलचित्र निर्देशक सौगात विष्ट ‘प्रोत्साहान सम्मान’ विधामा सम्मानित भएका छन् । भने  चलचित्र पत्रकारिता सम्मान विधा तर्फ सञ्चारकर्मी विदुर गिरी र प्रकाश सुवेदी क्रमशः पत्रिका र टेलिभिजन पत्रकारिता सम्मान विधामा सम्मानित भए भने अनलाईन तर्फ सुमन गैरेले सम्मान थापे ।

यस्तै वितरक नरेन्द्र महर्जनले वितरक सम्मान पाए भने अभिनेत्री शिल्पा पोखरेललाई ‘नवप्रतिभा सम्मान’ले सम्मानित गरियो । शिल्पा काम विशेषले कार्यक्रममा उपस्थित भने थिईनन् । साथै छाँयाकार मन्जु कुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’ विधामा सम्मानित भएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले पहिलो बार्षिकोत्सवको अवसरमा नै ‘फिल्मीबजार’ ले सुरु गरेको  कदमको तारिफ गर्दै थप सफलताको लागी सुभकामना दिएका थिए ।