आलोकको अन्तिम नासो: नेपाली कला संस्कृतीको प्रतिबिम्ब

मानवी बानियाँ ।

हेटौँडा चलचित्र अझै पनि यही फागुन १५ गतेदेखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र अझै पनि नेपालीहरुको सामाजिक तथा साँस्कृतिक मुल्य मान्यतालाई प्रतिबिम्बित गर्ने  चलचित्र रहेको यसका निर्माता तथा अभिनेता सुदर्शन थापाले दाबी गरेका छन् । प्रचार प्रसारको क्रममा मोफसलमा रहेका चलचित्र निर्माता तथा अभिनेता थापाले शनिबार चलचित्र पत्रकार संघ मकवानपुर साखाले  हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यो चलचित्रबाट मनोरञ्जनका साथै नेपालीहरुको मौलिक, सामाजिक तथा साँस्कृतिक मुल्य मान्यतालाई देखाउन खोजिएको दाबी गरे ।
ajhai paniकार्यक्रममा बोल्दै स्वर्गीय आलोक नेम्वाङले निर्देशन रहेको यस चलचित्रमा नारीको भूमिका र उनीहरुको स्थानलाई समेत महत्वपूर्ण मानिएको र प्राथमिकता दिइएको अर्की निर्माता एवम् फेसन डिजाइनर पुनम गौतमले बताईन् । निर्माताका रुपमा पहिलो पटक चलचित्रको क्षेत्रमा प्रवेश गरेकी गौतमले यस चलचित्रबाट नेपाली पारिवारीक एवम् सामाजिक विषयवस्तुलाई कलात्मक रुपमा उतार्ने प्रयत्न भएको दाबी गर्न समेत भ्याईन्।

कार्यक्रममा कलाकारहरु पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का र वितरक नरेन्द्र महर्जनले चलचित्रको तथा यसको प्रचारप्रसारको बारेमा बोलेका थिए । उनीहरुले यस चलचित्र धेरै जनाको करियरसँग पनि जोडिएको समेत बताए । निर्देशक आलोकको अन्तिम नासोको रुपमा रहेको यो चलचित्रलाई दर्शकले मन पराईदिने निर्माण युनिटको अपेक्षा छ ।