गीतकार तथा संगीतकार गुरुङलाई आर्थिक सहयोग

लामो समयदेखि अस्वस्थ रहँदै आएका गीतकार तथा संगीतकार शुक गुरुङलाई अमेरिकामा बस्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरिकाको न्यूर्योकमा रहेका नेपालीहरुले संकलन गरी पठाएको १ लाख १४ हजार ९० रुपैंयाँ मुनाल फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक तथा निर्माता भोज गुरुङले आइतबार ५४ वर्षे शुकको निजी निवास मित्रनगर गोंगबु पुगी उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Donation 2
निर्माता भोजका अनुसार अमेरिकामा रहेका रोशनी गुरुङ, प्रेम गुरुङ, विजय गुरुङ र मनिता गुरुङको विशेष सक्रियतामा उक्त रकम संकलन गरिएको हो । ‘उहाँहरुले सामाजिक सञ्जालमार्फत गीतकार तथा संगीतका शुकको बारेमा थाहा पाउनुभएछ, अनि केही आर्थिक सहयोग गर्नका लागि उहाँहरुले पहल गर्नुभएको हो ।’ भोजले भने ।
शुककी श्रीमति जुनाका अनुसार शुक विगत १६ वर्षदेखि मधुमेह रोगबाट ग्रसित छन् । ‘गत पौष १९ गतेदेखि चाहिँ उहाँ निकै बिरामी हुनुभयो, अस्पतालमा उपचार गराउन लैजाँदा डाक्टरले लिभर र किड्नीमा समस्या छ भनेपछि ग्रिन सिटी अस्पताल र टिचिङमा उपचार ग¥यौं,’ श्रीमति जुनाले भनिन्,‘उहाँ आँखा पनि देख्नुहुन्न, टोलाउने र सुर नपाउने अवस्थामा हुनुहुन्छ ।’
शुकका छिमेकी दुर्गा गुरुङले शुकलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट केही रुपमा आर्थिक सहयोग प्राप्त भईरहेको जनाए । ‘संगीत क्षेत्रमा लागेका व्यक्तिहरुले पनि उहाँको अस्वस्थताको खबर थाहा पाएपछि सहयोगको पहल शुरु गरिसकेका छन् ।’ उनले भने ।
शुकले लेखेका र संगीत भरेका ‘आँखैमा झलझली’, ‘छेक्यो छेक्यो’, ‘भाइटिकामा भेट्न’, ‘नरोए आमा’, ‘दोबाटोमा’ र ‘आँखाहरु’ बोलका गीत नेपाली श्रोतामाझ चर्चित छन् । उनले ‘इशारा १’, ‘इशारा २’, ‘इशारा ३’, ‘निवेदन’, ‘सूचना’ र ‘विरानो माया’लगायत १० एल्बम श्रोतामाझ ल्याईसकेका छन् ।