लमजुङमा फलैंचा संगीत

सरोद बाजालाई चिनाउने उद्देश्यले सुरु गरिएको फलैंचा संगीत अभियानको छैटौं शंृखला लमजुङको तार्कुघाटस्थित नौबिसेको लायन सर्वोदय ज्येष्ठ नागरिक आश्रममा सम्पन्न भएको छ। बेलायती नागरिक जिन्जी फ्रिडम्यानले उद्घाटन गरेकी कार्यक्रममा नेपालको पहिलो महिला सरोदवादक रूपा न्यौपानेले सरोदमा मंगल धुन प्रस्तुत गर्दै कार्यक्रमको सुरु गरिन्।
उनलाई तबलामा अर्पण महर्जन र बाँसुरीमा अमन मालीले साथ दिएका थिए। त्यसपछि कलाकारहरू सुरेन्द्र श्रेष्ठ, मालती आचार्य, करणराज कार्की, सौरभ श्रेष्ठ र कुलराज थापाले भक्ति संगीत प्रस्तुत गर्दा उनीहरूलाई तबलामा जगनाथ धौगडा, तानपुरामा विवेक न्यौपाने र गितारमा दिलीप मालीले साथ दिए। मणि चौलागाईंले संयोजन गरेका कार्यक्रममा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले आश्रमको गतिविधिका बारेमा बताए।
falaincha_sangit_801963343
                                                           photo -annapurna post
कार्यक्रममा फलैंचा संगीतको तर्फबाट आश्रमका सबैभन्दा ज्येष्ठ नागरिक ताराकुमारी पाण्डेलाई नगद र दोसल्ला ओढाएर सम्मानित गरियो। करिब दुई साताअगाडि विद्युत सट् भई आगलागीमा पूरै घर क्षति भएको परिवारका सदस्य जीवनकुमार श्रेष्ठलाई आश्रम एवं अन्य सहभागीको तर्फबाट एक लाख १० हजार बराबरको सहयोग प्रदान गरियो। कार्यक्रममा स्थानीय कलाकारको भजन समूह धमेली कुवा चम्पावती समूहबाट पनि लोकभजन प्रस्तुत गरियो।
 तार्कुघाटपछि फलैंचा संगीत राइनासकोटमा पुग्दा त्यहाँको थानापति आमा समूहकी अध्यक्ष मीना गुरुङले उनीहरूको भव्य स्वागत गरेकी थिइन्। राइनासकोटमा स्थानीयवासीले सोरषी नाच र घाटुनाच देखाउनुको साथै फलैंचा संगीत समूहले पनि आफ्नो सांगीतिक प्रस्तुति पस्केका थिए।
source-annapurnapost