पूजा बोहोरा र पूजा कार्की भेट्न रेखा थापा रक्षा नेपालमा

सामूहिक बलात्कारमा परेकी पूजा बोहोरा र आफ्नै बुवा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई अभिनेत्री रेखा थापाले भेट गरेकी छन् । रक्षा नेपालको संरक्षणमा रहेका दुई पूजालाई भेट्न रेखा बिहिबार मध्यान्ह् उक्त गैर सरकारी सामाजिक संस्थाको कार्यालय सोह्रखुट्टे पुगेकी थिइन् ।rekha on raakshya nepal fn

आफु अभिनित फिल्म ‘तथास्तु’ प्रदर्शनको एक दिन अगाडी रक्षा नेपाल पुगेकी रेखाले त्यहाँ जानुको कारण बारे भनिन्, ‘सञ्चार माध्यममा दुई पूजा बहिनीहरुको बारेमा धेरै पढेको र सुनेको थिएँ । उहाँहरुको अवस्था कस्तो छ भनेर बुझ्न मन लागेर आएको हुँ ।’ ‘तथास्तु’ रिलिजकै एक दिन अगाडी किन त ? भन्ने जिज्ञासामा रेखाले प्रस्ट्याइन्, ‘फिल्म र उहाँहरुको घटना लगभग उस्तै छ । पूजा कार्की आफ्नै बुवा र हजुरबुवाबाट बलात्कारमा पर्नु भयो ।

‘तथास्तु’ मा म आफ्नै श्रीमानबाट बलात्कृत हुन्छु । फिल्मले उहाँहरुको घटनालाई सम्बोधन गरेको छ त्यसैले भेटौं भनेर यहाँ आएको हुँ ।’ रेखा फिल्मस्ले निर्माण गर्ने आगामी फिल्म ‘रामप्यारी’ मा समेत दुई पूजाको अभिनय रहनेछ । हालसम्म सार्वजनिक नभएका दुई पूजा रेखाकै फिल्मबाट सार्वजनिक हुनेछन् । रेखाको यो योजनामा दुई पूजा खुसी छन् भने रक्षा नेपाल प्रमुख मेनुका थापा समेत सहमत भैसकेकी छन् ।

निर्देशक सबिर श्रेष्ठले ‘तथास्तु’ निर्माण पुर्व नै रक्षा नेपाल आउन नपाएकोमा पछुताए । सबिरले भने, ‘फिल्म बनाउनु भन्दा पहिल्यै आएको भए मैंले अझ राम्रो कथा पाउने रहेछु । तरपनि हामीले उहाँहरुको घटनालाई सम्बोधन गर्ने प्रयास गरेका छौं ।’ जगदिश्वर थापाले लेखेको फिल्म ‘तथास्तु’ ले नारी हिंसा र प्रतिकारको विषयमा बोल्छ । फिल्ममा रेखासँगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको मुख्य भूमिका छ ।