एचआइभी पीडीत वालवालिकाको लागी निर्णयको सहयोग

nirnayaनेपाली र्याप संगीतमा चर्चित व्यान्ड ‘निर्णय डि एनएसके’ले आफ्नो ‘नेपहप नाइट’ अस्ट्रेलिया टुरबाट उठेको करिब एक लाख रूपयाँ एचआइभी लागेका बालबालिकालाई सहयोग गरेको छ । सुरुमा नै एचआईभी पीडीतको नाममा नै भनेर अष्ट्रेलियामा कार्यक्रमको लागी गएको यो ब्याण्डले त्यहाँबाट संकलन भएको रकम आवासिय सुविधा सहित पढाउँदै आएको ‘सफलता एचआइभी शिक्षा सदन’लाई हस्तान्तरण गरेको हो ।

विश्व एचआइभी/एड्स दिवसको अवसर पारेर उक्त रकम हस्तान्तरण गरिएको थियो । सहयोग जुटाउनका लागि ‘यस हुम्यानिटी’ तथा ब्रदरहुड नेपालको सहकार्यमा गत नोभेम्बरमा मेर्लबन र सिडनीमा साँगितिक कार्यक्रम गरिएको थियो ।

उक्त साँगितिक कार्यक्रममा निर्णयसँगै नेपालबाट गायिका आस्था बी पनि गएकी थिइन भने अस्ट्रेलियामा रहेका मिस्टाले (नेपस्ड्याज), रविन्द्र (र्‍याप कनेक्ट), उर्वान पोएट, जंगि निशान आदिले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए।

किर्तिपुरमा रहेको ‘सफलता एचआइभी शिक्षा सदन’मा हाल करिब २१ जना एचआइभीबाट संक्रमित बालबालिकाहरू रहेका छन । र्याप संगीतसँगै समाजसेवामा पनि आफुलाई उत्तिकै सक्रिय राखेको यो ब्याण्डले आफू सहभागी हुने हरेक साँगीतिक कार्यक्रमहरुबाट सहयोग जुटाउँदै आएको छ ।