यसकारण फेरी सर्यो 'माई प्रमिस'

22 (1)प्रायः नेपाली निर्माता निर्देशकहरु आफ्नो सिनेमाको डेट लिन सुरुमै आत्तिन्छन् । सिनेमा रिलिजको लागी डेट लिनु र मिडियामा हल्ला गर्दैमा सिनेमा चल्छ भन्ने भ्रमले गर्दा पछी पटक पटक चिप्लेका उदाहरण पनि हाम्रै माझ छ । यो क्रममा सिनेमा ‘माई प्रमिश’ सिनेमाको युनिटमा पनि यही कुरा लागु भयो । सिनेमा प्रदर्शनमा ल्याउने भने धेरै पहिलेदेखी चर्चा गरेर सेलाएपछी पुनः पर्दामा ल्याउने मिति तय गरेको यो सिनेमाको युनिटले पछिल्लो दुई महिनाको बीचमा तीन पटक सिनेमाको रिलिज मिति तोकेर सारेको छ ।

सुरुमा मंसिर ५ मा सिनेमा प्रदर्शनमा आउने भनिएपनि अन्तिममा आएर पौष ११ लाई डेट सारियो भनेर मिडियामा न्युज ल्याएको निर्माण युनिटले हप्ता दिन नबित्दै यो मिति पनि परिवर्तन गर्यो र सिनेमा अब पौष १८ मा प्रदर्शनमा ल्याउने निर्णयमा पुग्यो ।

पौष ११ मा पर्याप्त हल नपाउने देखिएकोले  वितरकको आग्रहअनुसार सिनेमाको रिलिज मिति सारिएको निर्माता तथा अभिनेता रमेश चन्द्र राईले बताए । पौष १८ गतेबाट भने कुनै पनि हालतमा रिलिज मिति नसार्ने  र सिनेमा सोही मितिबाट दर्शकमाझ आउने उनको दाबी छ ।

सुरज सुब्बा नाल्बो निर्देशित यो सिनेमामा रमेशसँगै केकी अधिकारी, विल्सन विक्रम राई, नरकुमार लिम्बु, अनुराग कुँवर, मार्टिन खान लगायतको अभिनय छ । यो सिनेमा सिंगापुरे लाहुरेहरुको कथामा आधारित छ ।