‘मन्डे मुभिज’मा कोरियन फिल्मको चर्चा

monday moviesकाठमाडौं । हरेक हप्ता कुनै एक देशको नयाँ फिल्म देखाउने कार्यक्रम ‘मन्डे मुभिज’ अन्तर्गत सोमवारको श्रृङ्खलामा कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको फिल्म ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ देखाईएको छ । सिने पत्रकार तथा अन्य दर्शकको माझमा अनामनगर स्थित एक थिएटरमा यो सिनेमा देखाईएको थियो ।

एक घण्टा ४३ मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश र ‘बाँसुल्ली’ फिल्म निर्देशक मीनबहादुर भाम अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो ।

दक्षिण कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको फिल्म ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ मा एक भिक्षुको जीवन कथालाई विभिन्न मौसमसंग तुलना गरेर बाल्यकालदेखि वृद्ध अवस्थासम्मको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सन् २००३ मा निर्माण भएको फिल्मलाई विभिन्न पाँच भागमा विभाजन गरेर देखाइएको छ । उनको जीवनको विभिन्न अवस्थालाई हरेक मौसमसंग तुलना गरिएको छ । बसन्त, गर्मी, ग्रिस्म, जाडो र बसन्तमा हुने परिवर्तन फिल्ममा समावेश छन् । वातावरण मन्त्रालयसँगको ६ महिनाको छलफलपछि एलजे प्रोडक्सनले फिल्मको सेट जुसान्जी पोखरीमा निर्माण गर्न अनुमति पाएको थियो । जीवनका विभिन्न भोगाईलाई मौसमसंग तुलना गरेर फिल्म निर्माणबारे प्रतिक्रिया निर्देशक दुकले दिएका थिए ।