नम्रताको नाटक हेर्न तयार हुनूस !

namrata shrestha सिनेमा देखी थियटर सबै तिर आफ्नो परिचय जोडेकी अभिनेत्री नम्रता श्रेष्ठ पुनः नाटकमा जम्ने सुरमा छिन् । यसअघी पनि दुई वटा नाटकमा अभिनय गरिसकेकी नम्रताले सिनेमाको सुटिङबाट बचेको समय थियटरमा खर्चिने सोचमा पुगेकी हुन् । अर्को महिनाबाट मञ्चन हुने स्पेनिस समुदायको कथा बोल्ने नाटक ‘यर्मा’मा नम्रताले अभिनय गर्ने भएकी हुन् ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा यो नाटक र अभिनय गर्ने पात्रको बारेमा जानकारी गराईयो । स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गर्न लागेका हुन् । वान वल्र्ड थिएटरले गर्न लागेको नाटक नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म थिएटर भिलेजमा मंचन हुँदैछ ।

राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा साम्पाङ, सिर्जना अधिकारीले पनि अभिनय गर्दैछन् । यर्माको नेपाली अर्थ बच्चा नजन्माउने बाँझी आइमाइ भन्ने हुन्छ । स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने नाटकलाई वर्तमान नेपाली परिवेशसँग अनुग्रहण गरिएको छ ।  ‘नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । त्यहाँको गृहयुद्ध र संस्कृतिलाई अहिलेको नेपाली समाजसँग संयोजन गर्ने प्रयास गरिएको छ’ निर्देशक सुवेदीले भने, ‘एउटी बाँझी आइमाइ र उसको परिवारको संवेदनालाई देखाइनेछ ।’yerma namarata's natakवान वल्र्ड थिएटरकी अमेरिकी कला निर्देशक डेबोरा मेरोला नेपाली महिला, बालबालिका र संस्कृतिका द्धन्द्ध र तत्वसँग नाटक सादृश्य रहेको बताइन् । अभिनेत्री श्रेष्ठले फिल्मबाहेक नाटकबाट पनि धेरै कुरा सिकिरहेको बताइन् । ‘यो मेरो तेस्रो नाटक भएपनि सिक्ने प्रक्रिया जारी छ’ उनले भने ।

नाटकलाई कवितात्मक शैलीमा मंचन गरिने भएको छ । कमलमणीले यो नाटकमा गीत पनि गाउँदै छन् । ‘स्पेन र नेपाललाई राजनीति र कुटनीतिले होइन, यार्माको गोठालोले मात्र जोड्न सक्छ’ गुरुकुल अभिनेताले भने, ‘फिल्मले मात्र चित्त बुझ्दो रहनेछ । नाटकमा मनको खोजी हुँदो रहेछ ।’ नेपाली सिने कलाकारहरुले पछिल्लो समय थियटर तिर पनि अभिनय यात्रा अघी बढाईरहँदा नम्रता पनि यो लिष्टमा परेकी छिन् ।