श्रोतामाझ आयो गोविन्दको 'पल'

काठमाडौं । गायक गोविन्द गुरुङको नेपाली भाषाको तेस्रो गीति संग्रह ‘पल’ श्रोतामाझ आएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘पल’को नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बाँस्कोटा, सदस्य सचिव गणेश रसिक, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृति (सिईओ) किशोर महर्जनले संयुक्त रुपमा विमोचन गरे ।paal albumeकार्यक्रममा पल गीतिसंग्रहका दुई ओटा म्युजिक भिडियो पनि सार्वजनिक गरियो । जसको निर्देशन समन अधिकारीले गरेका हुन् । भिडियोमा सावित्री गुरुङ, सुप्रिया कटवाल लगायतले मोडलिङ गरेका छन् । यस अघि २०५६मा लोक गीतिसंग्रह ‘खुदी बजारमा’ र २०६४ सालमा आधुनिक गीतिसंग्रह ‘परिचय’ स्रोतामाझ ल्याएका गायक गुरुङको तेस्रो गीतिसंग्रह पल हो । पलमा ९ ओटा गीत छन् । ९ मध्य ६ ओटा गीतको रचना र संगीत गुरुङ आफैंले गरेका हुन् । बाँकी तीन ओटा गीतको रचना चलचित्र निर्देशक तुलसी घिमिरे, ललिजन रावल र राजु थापाले गरेका हुन् । पलमा संग्रहित दुई ओटा गीतमा बिबी अनुरागी र एउटा गीतमा शक्ति बल्लभको संगीत छ ।

कार्यक्रममा बोल्दै कुलपति सरुभक्तले गुरुङका गीतहरु स्तरीय र माधुर्य बनेको बताए । गीतिसँगीतको विकाश र प्रवर्धनमा नीजि क्षेत्रले उल्लेख्य योगदान पुर्याएको उनले बताए । बैंकको कार्यमा व्यस्त भएर पनि फुर्सद निकालेर गीत सँगीतलाई निरन्तरता दिएकोमा गायक गुरुङको गायन यात्राको उनले प्रसंसा गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले सो गीतिसंग्रहका गीतहरुको समीक्षा गरेका थिए ।